कृषि प्रधान देशको प्रमुख खाद्यवाली धान र मकै आयातमा एक बर्षमा सवा ७ अर्ब रकम मुलुकको एउटा नाकाबाट बाहिरिएको छ । यसो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर कृषि प्रधान देश नेपालको वास्तविकता भने यस्तै छ । गएको आर्थिक बर्ष (०७४/०७५) मा वीरगन्ज नाकाबाट मात्र धान र मकै आयातमा ७ अर्ब १९ करोड ५३ लाख ३८ हजार रकम बाहिरिएको छ । यो अघिल्लो आर्थिक बर्ष (०७३/०७४) को भन्दा १ अर्ब ६४ करोड ९९ लाख ९ हजारले बढि हो । अझ बाहिरबाट आयात भएका प्रमुख २० मालबस्तुको लिष्टमा खाद्यान्न मकै टप १६ नम्बर र धान २० नम्बर भित्र पर्दा खाद्यान्नमा नै मुलुक परनिर्भर तर्फ उन्मुख भइरहेको प्रष्ट हुन्छ । यसले पनि नेपाली किसान र वास्तविकता बुझ्ने नेपालीलाई अझ चिन्ता थपिएको छ ।
मुलुक भित्र उत्पादन नहुने सामान त बाहिरबाट आयात गर्नु स्वभाविकै हो । तर मुलक भित्र उत्पादन हुने समान पनि नहुने सामानको तुलनामा आयात हुनु निःशन्देह चिन्ताको बिषय हो । कृषि प्रधान देशको शिर निहुरिेने गरी यस्तो दुःखद् यथार्थ सामने आउनु भविष्यका लागि चुनौतिको बिषय होइन भन्न सकिन्न । मुलुकमा न त ‘कृषि राज्यको अवधारणा’ छ ? न त मुलुक हाँक्नेहरुलाई खाद्यान्न आयातबाट अर्बौं रकम बाहिरिएकोमा चिन्ता छ ? यतिमात्र नभएर एउटा मुलुकका च्याउझैं उमरेका ७६१ सरकार संचालकलाई मुलुक भित्र तराई अन्नको भण्डार हुँदा पनि कृषि उत्पादनको बैज्ञानिक अवधारण ल्याउन नसक्ने नीति आलोचना गर्न लायक छ । उनीहरुलाई यो बिषयमा जति आलोचना गरे पनि कमै हुन्छ । कम्तिमा अन्नको भण्डार बचाएर मुलुक भित्रै उत्पादन हुन सक्ने मालबस्तु बाहिरबाट आयात गर्नु नपर्ने अवस्था सृजना गर्नुपर्ने दायित्वबाट अब उनीहरु भाग्न पाउँदैनन् ।
जनताको हुर्मत काढेर उठाएको करबाट घर चलाउन पल्केका राजनीतिकर्मीहरुले सत्ताको भ¥याङ्गमात्र जनतालाई बनाउन अब छोड्नु पर्छ । कृषि प्रधान देशभन्न समेत लज्जाबोध हुने अवस्थाको अन्त्य गर्न विर्सिए नेपालले ठूलो मूल्य चुकाउनु नपर्ला भन्न सकिन्न । २५/३० बर्ष अगाडी खाद्यान्न निर्यात गर्दै आएको मुलुकमा पछिल्लो समयमा किसानलाई बजार, मल बिऊ केहीमा पनि राज्यले सुविधा नदिंदा युवा जनशक्ति पलायन हुने र उत्पादनमा ह्रास आउने कुरालाई राज्यको नेतृत्वमा हुनेले अब सम्झनु पर्छ । यसो भए मात्र मुलुकलाई कुनै दिन कंगाल मुलुक हुनबाट जोगाउन सकिन्छ भन्ने हेक्का यत्राविधी सरकार हाँक्नेले राख्न सक्नु पर्छ । यसको लागि आधुनिक कृषि प्रणालीको विकास गर्दै जानु पर्छ ।
आधुनिक कृषि प्रणाली अपनाएर अपार समतल भूमिबाट नेपालीले फाइदा लिन सके मात्र कृषि प्रधान देश भएको गर्व गर्न सकिन्छ । अनि खाद्यान्नमा परनिर्भर होइन निर्भर भई विगत २५/३० बर्ष झैं निर्यात गर्न समेत अग्रसर हुनु पर्छ । यसो भएमात्र भेलीका लागि थ्रेटका रुपमा देखिएको खाद्यान्न आयात प्रतिस्थापन हुने र सयौं हेक्टर समतल भूमिको उपभोग हुनेमा दुईमत रहँदँन । यति पनि गर्न नसक्ने हो भने कृषि प्रधान देश भन्नुको अर्थ रहन्न ।