श्वास फेर्दा वाहेक बाँकी सबै कुरामा वीरगन्ज महानगरपालिकाले अचाक्ली कर बढाएर यतिवेला वीरगन्ज महानगरवासीलाई आहत पारेको छ ।
२० बर्ष कर्मचारीले नगरपालिका चलाउँदा जनतालाई केही राहत भएन भनी हरेक कार्यक्रममा उद्घोष गर्ने महानगरपालिकाका जनप्रतिनीधिले ५ सयको ठाउँमा १५ हजार कर पु¥याएको छ । आखिर यो कस्को लागि ? जनताका प्रतिनीधि कर्मचारी सरह तलबभत्ता लिएर आवधिक कर्मचारी भएका छन् । साँचो अर्थमा जनप्रतिनीधि त विना सेवा सुविधा जनतालाई सेवा गर्ने हुनुपर्ने हो । तर नेपालमा आएको गणतन्त्र पछि राजनीतिक दलबाट स्थानीय सरकारदेखि प्रदेश र केन्द्र सरकार सम्म सबै सरकारमा रहेने जनप्रतिनीधिहरु सबैले तलब सुविधा लिने निर्णय गरेर मुलुकको आर्थिक व्ययभार ह्वात्तै माथि पु¥याएका छन् । उनीहरुको यो व्ययभार वहन गर्नका लागि विकासका नामममा अहिले आम सर्वसाधारणले अधिक कर तिरिदिनु परेको छ । वीरगन्ज महानगरपालिकाको आचारण पनि मुलुकका अरु पालिका सरह नै हो । तथापि उसले अरु पालिकाहरुभन्दा अधिक कर निर्धारण गर्न पुग्दा विरोधको स्वर अलि बढि सुन्नु पर्ने देखिन्छ ।
आर्थिक नगरीका मानिस ५० रुपैयाको लागि निकै चर्काचर्की गरी सडकमा हल्ला हल्ला गर्ने गरे पनि नगरपालिकोका कर नीतिका विरुद्धमा भने उति बोलेका छ्रैनन् । तर बल्ल स्थानीय २४ वटा संघ संस्था वीरगन्ज महानगरपालिकाको बोर्डले अत्याधिक कर बढाएर सर्वसाधारको हजारका हजार बढि कर तिर्नु पर्ने कुरामा दवाव दिन जुट्दै छन् । नयाँ वडा विस्तार भएको वीरगन्ज महानगरमा पुराना १६ वटा वडाले नयाँ वडाको लागि पनि खर्चको व्ययभार व्यहोर्ने गरी आधा जति महानगरको वडामा बढि करको दर निर्धारण हुनु पहिलेका नगरवासीका लागि कर माथिको डबल कर सहजै देख्न सकिन्छ । यति हुँदा पनि नेपाली कांग्रेस वाहेक महानगर भित्रका अन्य राजनीतिक दल चूँ नबोल्नु भनेको उनीहरु जनता प्रति जनउत्तर दायी छैनन् कि भन्ने देखाउँछ । जो कर तिर्न गएका छन् । उनीहरुले यो करको वृद्धिको विस्तारै अनुभव गर्न सुरु गरे पनि थेरै नगरवासीलाई अझै खासै थाहा भएजस्तो देखिदैन ।
संस्थागत रुपमा करको सुरुमा विरोध गरेको वीरगन्ज उद्योग बाणिज्य संघले पनि भने बल्ल अरु पनि बस्तुगत संघ संस्थाहरुलाई गोलबन्द गरी महानगरको कर नीतिका विरुद्धमा खुलेर बोल्ने आँट गर्न लागेको देखिन्छ । गणतन्त्र आएपछि हदै सम्म कर तिर्नु पर्ने रहेछ भन्ने भ्रम चिर्न पनि वीरगन्ज महानगरपालिकाले करको दर भन्दा दायरामा बढि जोड दिनुपर्ने अवस्था टट्कारो छ । अहिले सम्मको अवस्था हेर्ने हो भने वीरगन्जवासीले आफ्नो हितको लागि संगठित भएर कहिले बोलेको देखिदैन । कसैको बहकावमा भएका आन्दोलनमा भने सबैभन्दा बढि यहि क्षेत्रका जनताले योगदान गरेको इतिहास जिवित छ । तर त्यो इतिहासलाई आफ्नो हितको लागि भने कहिले पनि वीरगन्जवासीले प्रयोग गरेको देखिदैन । यो पटकको कर नीतिको सवालमा भने वीरगन्जवासीले विरोध गर्छन् कि गर्दैनन् त्यो भने भविष्यले देखाउने नै छ ।
जन्म र मृत्यु तथा विवाह दर्तामा समेत करको दर बढ्दा पनि विरोधको स्वर वीरगन्जवासीले उठाउन सकेनन् भने केन्द्रमा यहाँका नेताहरुको उपस्थिति जसरी हल्का झल्किएको छ । महानगरपालिकाका सामु वीरगन्जवासीको उपस्थिति पनि उस्तै फिक्का सावित हुने छ । त्यसैले पनि उचित कर नीतिका लागि वीरगन्जवासीको उचित आवाज बोलन्द हुन जरुरी छ ।