प्रदेश नं २ को सरकारले बालिका तथा किशोरीलाई शिक्षामा पहँुच बढाउन ल्याएको बेटी पढाऔँ, बेटी बचाऔँ योजना बारामा लोकप्रिय हँुदै गएको छ ।
‘बेटी पढाऔँ बेटी बचाऔँ’ कार्यक्रम अन्तर्गत बाराको प्रसौनी गाउपालिकाले छोरी जन्मदा, ३५ दिनभित्र जन्मदर्ता गर्नुपर्ने र तत्कालै गाउपालिकाले छोरीको नाममा १० हजार रुपैयाको २० बर्षे मुद्दति खाता खोलिदिने निर्णय गरेपछि विस्तारै यो कार्यक्रम लोकप्रिय हुने भएको हो । पर्सा जिल्लाको पोखरीया नगरपालिकाले पनि ‘बालिका स्वर्णिम योजना’ ल्याएको छ ।
पर्साले जिल्लामा विभिन्न स्थानीय तहमा यो योजना लागू भएपछि बालिका तथा किशोरीका अभिभावकले उत्साहपूर्वक सो योजना अन्तर्गत छोरी जन्मिएपछि जन्म दर्ता गर्ने, विद्यालय पठाउनुको साथै दाइजो प्रथा जस्ता विकृति अन्त्य गर्नुपर्नेमा कोशेढुंगा हुने अपेक्षा गरेका छन् । गर्भमै छोरीलाई मार्ने सामाजिक विकृति अन्त्य हुने, सानैमा विवाह हुने, दाइजो प्रथा जस्ता कुरीतिलाई अन्त्य गर्नमा यो कार्यक्रमले सहयोग गर्ने भएकाले अन्य स्थानीय निकायले पनि यो कार्यक्रम लागू गर्दै गइरहेका छन् ।
‘बेटी पढाऔँ बेटी बचाऔँ’ भन्ने योजना व्यवहारमा नदेखिने र बजेट सिध्याउने प्रदेश सरकारको योजना हो भन्ने टिप्पणी गर्दै नेपाल पत्रकार महासंघ, प्रदेश नं २ का सभापति दीपेन्द्र चौहानले भने यो नाराले तराईमा छोरीप्रति देखिने दृष्टिकोणमा भने परिवर्तन हुन नसक्ने दावी गरेका छन् ।