बारा जिल्लाबाट यस वर्ष दुई सय २५ जना महिला तथा बालबालिका हराएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराको तथ्याङ्क अनुसार हराएकामध्ये ५८ जना फेला परेका छन् । हराएका मध्ये एक सय ६७ जना अझै पनि फेला परेका छैनन् । हराएका महिला तथा वालवालिकाका अभिभावकले खोजी गरिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय बारामा निवेदन दिएका छन् । हराउनेमा १६ देखि ४० वर्ष उमेर समूहका महिला रहेको बारा प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक मिरा चौधरीका अनुसार चालु आर्थिक बर्षको असार २९ गते सम्म हराएका मध्ये एक सय २४ जना महिला, ७९ जना बालिका तथा २२ जना बालक रहेको प्रहरी उपरीक्षक चौधरीले बताइन् । वेरोजगारी, अशिक्षा र परिवारको आर्थिक अवस्था कमजोर भएका कारण हराउने क्रम बढेको हो । कतिपय महिला तथा वालवालिका घरमा झगडा गर्ने, रिसाएर हिँड्ने र हराउने भएपछि अभिभावकले खोजी गरिदिन आग्रह गर्दै प्रहरीमा निवेदन दिने गरेको बाराका प्रहरी नायव उपरीक्षक रन्जित सिंह राठौरले बताए । आंशिक वा न्युन शिक्षित महिला तथा बालिकाहरु प्रेम सन्दर्भमा घर छोडी भागेको पाइएको छ ।
हराएका महिला तथा बालबालिका बारे अध्ययन गर्दै पछी अधिकांशसंग प्रेम सम्बन्ध रहेको पाइएको छ । हराएकाहरु तथा उनका अभिभावकले हराएकाहरु घर फर्केपनि प्रहरीलाई जानकारी नगराउदा प्रहरीको तथ्यांक अद्यावधिक हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाराको भनाई छ ।